सर्लाही / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो ।
पौडेलको गैरन्यायिक हत्या गरिएको भन्दै १० जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्य कुमार कार्की र जिल्ला अस्पतालमा सर्लाहीका डाक्टर वीरेन्द्रकुमार मण्डल विरुद्ध किटानी जाहेरी दिइएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरू सत्यनारायण मिश्र र विनोद शाह तथा इन्स्पेक्टर कृष्णदेव प्रसाद शाहको नाम पनि जाहेरीमा परेको छ । मृतकका परिवारले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेका छन् ।
२०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जङ्गल नजिक प्रहरीको गोली लागेर नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का नेता पौडेलको मृत्यु भएको थियो । प्रहरीले सो घटनलाई इन्काउन्टर गरिएको जिकिर गर्दै आएपनि पौडेललाई कब्जामा लिएर गोली हानेर हत्या गरिएको परिवारको दाबी रहेको छ ।
घटनाबारे तत्कालीन गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जवाफ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको प्रतिक्रिया समेतका आधारमा उनीहरूमाथि पनि अनुसन्धान हुनुपर्ने जाहेरीमा माग गरिएको छ ।