बिर्तामोड / जापान सरकारले विपद्को समयमा गरेको कामको कदर गर्दै एक नेपालीलाई सम्मान गरेको छ । काभ्रे घर भइ हाल तोचिगी प्रान्तमा बस्दै आएका ३५ वर्षीय महेश लुइँटेललाई सम्मान गरेको हो ।
ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी पुर्याउन सहयोग पुर्याएको भन्दै जापानको विपद् व्यवस्थापन मन्त्रालय मातहतको निकायले उनलाई सम्मान गरेको बताइएको छ ।
जापान सरकारले हरेक वर्ष राष्ट्रव्यापी रूपमा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने व्यक्ति तथा समूहहरूलाई मन्त्रालयले सम्मान गर्दै आएको छ । यस वर्ष जापान सरकारले देशभरबाट लुइँटेलसहित १४ व्यक्ति र ४९ समूहलाई सम्मान गरेको छ ।
१३ वर्षदेखि जापानमा बस्दै आएका लुइँटेलले विपद्को समयमा नेपालीसहित त्यस क्षेत्रमा बस्ने विदेशीहरुलाई एसएमएस, सामाजिक सञ्जालमा सृजनामूलक जानकारी, मोबाइलमा प्राप्त इमरजेन्सी सूचनाको अनुवाद, प्रत्यक्ष फोनसम्पर्क लगायतका माध्यमबाट बाढी र वर्षाको अवस्था, आपतकालीन समयमा कसरी सुरक्षित रहने भन्ने लगायतका जानकारी पुर्याएर सहयोग गरेका थिए ।
सन् २००९ मा विद्यार्थी भिसामा जापान प्रवेश गरी हाको विश्वविद्यालयबाट बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनी हाल करिब २८ भन्दा बढी मुलुकका कामदारहरूको व्यवस्थापन तथा पूर्ति गर्दै आएको कम्पनी एसएमएस कर्पोरेशनका सञ्चालक सदस्य एवम् सीईओ पनि हुन् ।