बिर्तामोड / चर्चित साढे ३३ किलो सुन प्रकरणमा मुछिएका चुडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्यामा संलग्न ७७ जना प्रतिवादी मध्ये मंगलबार जिल्ला अदालत, मोरङले छ जनालाई जन्म कैद सजाय तोकिएको छ भने दुई जनालाई तीन वर्ष र छ महिना कैदको सजाय सुनाएको छ ।
गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीले जन्म कैद सजाय पाएका छन् भने, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ ।
२०७४ माघ ९ गते दुवैबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल हुँदै ल्याएको साढे ३३ केजी सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो ।
तस्करीको सुन सम्बन्धित व्यक्तिसम्म नपुगेपछि गोरे लगायतको समूहले अनेकौँ यातना दिएर शाक्यको हत्या गरेका थिए ।
शाक्यको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो र्याकेट’बारे अनुसन्धान भएको थियो ।
सुन तस्करी र शाक्य हत्या प्रकरणमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी ,श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले भने सफाइ पाएका छन् ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।
घटना भएको ४ वर्षपछि जिल्ला अदालतले आज मङ्लबार फैसला सुनाएको हो ।