बिर्तामोड / नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीको संरक्षणमा कानुनी कारवाहीबाट जोगिदै आएका सिभिल बैँक र सिभिल ग्रुपका अध्यक्ष समेत रहेका इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गरेर ओलीको संरक्षणमा जोगिदै आएका तामाङलाई ओलीको सत्ताच्युत पछि बनेको सरकारले कारबाही अघि बढाएको हो । एमालेका तर्फबाट संविधानसभाका सदस्य समेत बनेका तामाङलाई एमाले नेतृत्वको सरकारले संरक्षण र सुरक्षा दिँदै आएको थियो ।

सरकार फेरिएसँगै सर्वसाधारणको अरबौँ रुपैयाँ डुबाएका तामाङसहित अन्य १२ जना पक्राउ परेका छन् । निक्षेपकर्ताले उनीहरु विरुद्ध आइतबार ४६ करोड भन्दा बढी ठगी गरेको प्रमाणसहित सीआइबीमा उजुरी गरेका थिए ।

सोही उजुरीको आधारमा अध्यक्ष तामाङसहित सञ्चालकहरू केशवलाल श्रेष्ठ र विजय विक्रम शाह लगायत १२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार सिभिल सहकारीको कार्यालयबाटै पक्राउ गरेको हो ।

आपनो बचत रकम फिर्ता माग्दा तामाङले बचतकर्ताहरुलाई आफू ओलीको साडुभाइ भएको भन्दै अवैध रुपमा जम्मा गरेको रकम माग्न आएमा सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइदिने धम्की समेत दिने गरेका थिए ।

आफुले बचत गरेको रकम पटक–पटक माग्दा नपाएपछि बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै सङ्घर्षमा उत्रिएका थिए ।

तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् ।  

२०७५ पुस ३० गतेसम्मको सिभिल सहकारीको विवरणअनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार रुपैयाँ मध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्त सम्ममा सात अर्ब एक करोड ३७ लाख ११ हजार रुपैयाँ ३७ भन्दा बढी कर्जा दिइएको पाइएको छ ।  जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ ।

होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै आठ अर्ब नाघिसकेको छ ।  जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ भएको हो ।