बिर्तामोड / चर्चित साढे ३३ किलो सुन प्रकरणमा मुछिएका चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाइएको छ । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको हो।
गोरेसँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनालाई पनि जन्म कैद सजाय सुनाइएको छ। साढे ३३ किलो सुन तस्करीका ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ भने, बाँकी दुई जनलाई तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।
२०७४ माघ ९ गते दुवैबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगे पछि गोरे लगायतको समूहले अनेकौँ यातना दिएर सनम शाक्यको हत्या गरेका थिए ।
शाक्यको हत्यापछि मात्र साढे ३३ किलो सुन हराएको पुष्टि भएको थियो ।
तस्करी भएको साढे ३३ किलो सुन र सनमको हत्याको घटना लुकाउन प्रहरीको पनि संलग्नता रहेको आरोप लाग्दै आएको छ । यस घटनामा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।
घटना भएको ४ वर्षपछि जिल्ला अदालतले आज मङ्लबार फैसला सुनाएको हो ।