काठमाडौँ / भारतको बिहार राज्यबाट अपहरित एक युवाको सशस्त्र प्रहरी बल नेपालले उद्धार गरेको छ ।
शुक्रबार राती बिहार राज्यको मधुवनी ग्रामपञ्चायतबाट अपहरणमा परेका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट सकुशल उद्धार गरिएको हो ।
अज्ञात समूहले अपहरण गरी उनलाई नेपाल सीमानातर्फ लगेको जानकारी पाएपछि रामनगरस्थित बिओपीबाट सक्रिय भएको सशस्त्र प्रहरी टोलीले २ घण्टा नबित्दै उनको उद्धार गरिएको हो । भारतीय पक्षले दिएको जानकारीपछि बिओपीबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक लालबहादुर खड्काको कमाण्डमा सात जनाको पैदल टोली उनको खोजीमा जुटेको थियो ।
सशस्त्र प्रहरी टोलीले साहलाई बलान बिहुलस्थित रामनगर कोदरकट्टीमा फेला पारेको हो । उनी खुट्टामा साङ्लोले बाँधी लडाएर राखिएको अवस्थामा झाडीमा फेला परेका थिए ।
खोजतलासको क्रममा अपहरणकारीले प्रयोग गरेको नेपाली नम्बरको सिमकार्ड सहित आइटेल कम्पनीको मोबाइलसहित थप अनुसन्धानका लागि साहलाई शुक्रबार राती नै नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।