बिर्तामोड / उद्योगी र व्यवसायीले उपभोक्तालाई तौल र गुणस्तरमा ठगी गर्ने गरेको नयाँ भने हैन । सरोकारवाला सरकारी निकायका अधिकारी आर्थिक प्रलोभनमा पर्ने गरेकाले उपभोक्तालाई ठगी गर्नेहरू सजिलै कानुनी कारवाहीबाट जोगिने गरेका छन् ।
निर्माण क्षेत्रमा प्रयोग हुने डन्डी र सिमेन्टमा पनि उद्योगका संचालकले तौल परिक्षण नगरी किन्ने गरेका उपभोक्तालाई सजिलो गरी ठग्ने गरेका छन् । ठगीमा सामान्य व्यापारी देखी देशमा नै नाम चलेका ठुला व्यवसायीक घरानमा समेत जोडिन थालेका छन् ।
देशकै ठूला व्यवसायीक घरानाको लगानी रहेको सिमेन्ट उद्योगले पनि बोरामा नै ५ देखि ७ किलो सम्म तौल कम बनाएर उपभोक्ता ठगिरहेको विषय सार्वजनिक भएको छ । शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानी सिराहाको कर्जन्हा नगरपालिकामा सञ्चालनमा रहेको देशकै ठुला मध्येको एक सौर्य सिमेन्टले कम तौलको सिमेन्ट बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने गरेको खुलेको हो ।
ठुलो लगानीमा सञ्चालनमा आएको उद्योगले ५० केजी तौल भनेर बिक्री गर्दै आएको सिमेन्टमा ५ देखि ७ केजी कम तौल हुने गरेको पाइएको छ । सिराहाका एक बिक्रेताको गोदाममा राखिएको सिमेन्टलाई डिजिटल काँटामा राखेर तौल परिक्षण गर्दा हरेक बोरामा तौल कम रहेको खुलेको हो ।
सौर्य सिमेन्ट उद्योगबाट उत्पादित सौर्य सिमेन्टको तौल परिक्षण गरेको भिडियो यतिबेला सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । भिडियोमा थोक बिक्रेताले गोदाममा राखेको सिमेन्टका बोरा तौल गर्दा हरेक बोरामा ५ देखि ७ केजी सम्म तौल कम रहेको देख्न सकिन्छ ।
नेपालमा सबैभन्दा राम्रो मानिएको उदयपुरको गैंडा सिमेन्ट बराबरको गुणस्तर रहेको भनेर कम्पनीले दावी सहित सिमेन्ट बिक्री गदै आएको छ । पछिल्लो समयमा उद्योगको प्रचारका कारण सौर्य सिमेन्ट देशमा बिक्ने चल्तीको सिमेन्ट समेत मानिन्छ ।
उदयपुरको कटारीमा रहेको खानीबाट चुनढुङ्गा ल्याएर सिमेन्ट उत्पादन गर्दै आएको सौर्यको उत्पादनलाई आम नागरिकले गैंडा सिमेन्टकै हाराहारीमा राखेर प्रयोग गर्न थालेका बेला उद्योगले उपभोक्तालाई कम तौलको सिमेन्ट दिने गरेको सार्वजनिक भएको हो । उद्योगले उपभोक्तालाई प्रतिवोरा ७ सय १० देखि ७ सय १५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको छ ।
देशका ठूला औधोगिक घरानाको ठुलो लगानीमा सञ्चालनमा आएको उद्योगले गैंडा सिमेन्टकै स्तरमा आफ्नो उत्पादन भएको दावी गर्ने गरेको छ । उपभोक्ताले समेत उदयपुरकै खानी प्रयोग गर्ने गरेकाले उद्योगको दाबीमा विश्वास गर्ने गरेका छन् । १५ अर्ब रुपैयाँ भन्दा बढि लगानीमा सञ्चालनमा आएको उद्योगले ओपिसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उपभोक्ताको रोजाईमा रहेको सरकारी लगानीको गैंडा सिमेन्ट माग अनुसार उपभोक्ताले नपाउँदा सौर्यले सञ्चालनको छोटो समयमा बजारमा आफूलाई बलियो बनाएका बेला तौलमा ठगी गर्ने गरेको खुलेको हो ।
सौर्यको तौलमा भएको ठगीका विषयमा जिल्ला प्रशासन कार्यालय सिराहाले लिखित रुपमा पनि कार्यालयमा उजुरी परेको जनाएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सौर्यको उत्पादनमा भएको कम तौलको विषयमा उजुरी परेको र सो विषयमा छानविन गरी जानकारी गराउन स्थानिय निकायलाई निर्देशन दिईएको समेत वताएका छन् ।
कम तौलको सिमेन्ट बिक्री गरेर उपझोक्तालाई ठगी गरेको विषयमा बुझ्न उद्योगले सार्वजनिक गरेको ९८०१५७२११२ नम्वरमा सम्पर्क गर्दा समेत उद्योगका जिम्मेवार अधिकारी संचारमाध्यमको सम्पर्कमा आउन चाहेका छैनन् ।