बिर्तामोड / समाजमा आतंक फैलाउने र चरित्र हत्या गर्ने काममा संलग्न चार युट्युबरलाई प्रहरीले पक्राउ परेको छ । देशभर युट्युबरका नाममा समाजिक सदभाव बिथोलिने , अनुसन्धानमा नै प्रहरीलाई असहयोग हुने र अदालतसम्मलाई प्रभावित बनाउने काममा संलग्न हुँदै आएका युट्युबरमाथि प्रहरीले कारवाही सुरु गरेको हो ।
यसअघि पनि केही घटनामा पत्रकारिता पेशालाई नै बदनाम गराउने काममा संलग्न रहेका युट्युबर छिटपुट रुपमा पक्राउ पर्ने गरेका थिए । झापा , चितवन र दाङ लगायतका जिल्लाका केही युट्युबरलाई प्रहरीले यसअघि नै पक्राउ गरेर कानुनी कारवाही थालेको संकेत दिएको थियो ।
नेपाल प्रहरीको साइबर ब्युरोले काठमाण्डौबाट बुधबार चार युट्युबरलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका बेलबारी नगरपालिका ९, मोरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबका सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेका छन् ।
पक्राउ परेकाले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र हत्या हुने गरी पक्राउ परकाले सामाग्री प्रसारण गरेका थिए । उनीहरुले आफ्नो युट्युब मार्फत महिलाको वास्तविक नाम तथा तस्विरसमेत सार्वजनिक गरिदिएका थिए ।
पक्राउ परेका माथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी कारवाही अघि वढाइएको प्रहरीले जानकारी गराएको छ ।