बिर्तामोड / बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको हत्या र सुन तस्करीको मुद्दामा यतिबेला जिल्ला अदालत मोरङमा अन्तिम सुनवाई भइरहेको छ । सुन तस्करीमा संलग्न उर्लावारीका सनम शाक्यको हत्यासँग जोडिएको मुद्दामा सोमवार सरकारी वकिलको बहस सकिएको छ ।
शाक्यको हत्यापछि सरकारले गरेको अनुसन्धानमा दोषी पाइएका ७३ जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले मुद्दा दायर गरेको थियो । सुन तस्करीसँग जाडिएको मुद्दामा मुख्य प्रमाण मानिएको ३३ केजी सुन प्रहरीले फेला पार्न नसकेकाले मुद्दा कमजोर बन्ने अनुमान गरिदै आएको छ ।
तस्करीमा जोडिएका धेरै यसअघि नै अदालतको आदेशमा छुटेकाले जारी बहस पछि थुनामा रहेका पनि छुट्ने अनुमान गर्न थालिएको हो । हत्याको विषयमा प्रहरी सँग यथेष्ट प्रमाण रहेपनि तस्करीका विषयमा प्रहरीसँग ठोस प्रमाण नरहेकाले आरोपीलाई सहज भएको कानुन व्यवसायीको भनाई छ । सरकारी पक्षले पक्राउ परेकाले दिएको बयानलाई नै तस्करीको मुख्य प्रमाणका रुपमा अदालतमा प्रस्तुत गरेको छ ।
उच्च प्रहरी अधिकारी सहित ७३ जना प्रतिवादी रहेको ३८ क्विन्टल सुन तस्करीको मुद्धामा आरोपीका पक्षमा वकिलको प्रतिरक्षा बहस सुरु भएको छ । सुन तस्करीमा जोडिएका पूर्व डिआईजी गोविन्द प्रसाद निरौलाको तर्फबाट अधिवक्ता भानुभक्त निरौलाले प्रतिरक्षा बहसको थालनी गरेका हुन् ।
सोमवार अबेरबाट सुरु भएको प्रतिरक्षा बहसले आज मंगलबार पनि निरन्तरता पाउने छ । प्रतिवादीका तर्फबाट ८० भन्दा बढि कानुन व्यवसायी बहसमा सहभागि हुने छन् ।
सरकारी पक्षबाट बहसमा सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मनिषबाबु पोखरेल सहभागि भएका थिए ।
सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरेको सरकारी पक्षले दावी गरेको छ ।
वि.स. २०७५ वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय मार्फत छानविन समितिले उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाएर ७३ जना विरुद्ध सुन तस्करी तथा व्यक्ति हत्यासम्बन्धी मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका ५५ र फरार रहेका २२ जना विरुद्ध सरकारी पक्षले सङ्गठित अपराध , भन्सार ऐन र तत्कालीन मुलुकी ऐन विरुद्ध कसुर गरेको दावी गरेको छ ।