वीरगञ्ज / सीमा नाकाबाट भन्सार छली ल्याएको सुपारीलगायतका सामानसहित जिल्ला प्रहरी पर्साले ट्रक तथा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरू भन्सार छली गरी वीरगञ्जबाट नेपालगञ्जतर्फ लाँदै गरेको ना.२ ख. ००२५ नम्बरको मालवाहक ट्रक प्रहरी  टोलीले  २०७८ असोज १० गते नियन्त्रणमा लिएको हो ।


 जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालवस्तुहरुको बिलविजक नरहेकोले चालक सहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका चालक मकवानपुर हेटौँडा उ.म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३१ को नवीन कुमार श्रेष्ठ रहेका छन् ।  ट्रकलाई नियन्त्रणमा लिई सामान तथा ट्रकको रू.६५,००,०००।– (पैसठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि  २०७८ असोज ११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै, २०७८ असोज १० गते विषेश सूचनाको आधारमा  पर्साबाट सुपारी, छोगडा तथा मरीच लगायतका मालबस्तुहरू भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ । सूचनाको आधारमा प्रहरीले प्रदेश नं.२-०३ -००१ थ ०००१ नम्बरको ट्रयाक्टरलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रयाक्टरको डब्बा भित्र सुपारी ४६ बोरा, छोकडा १० बोरा, मरिच ५ बोरा, केराउ ७ बोरा लगायतका सामान बरामद गरेको हो ।

 

ट्रयाक्टर तथा मालसामानलाई ट्रयाक्टर चालक जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४५ को आलिम अन्सारीसहित नियन्त्रणमा लिई जम्मा रू.२०,००,०००।–(बीस लाख) मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जानकारी पर्सा प्रहरीले दिएको छ ।