रौतहट // घाँस काट्न गएका एक ५० वर्षीय वृद्धको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ।
मुख्य योजनाकार भने फरार भएका छन्। चन्द्रपुर नगरपालिका–३ का ४५ वर्षीय प्रल्हाद फुयाँल, पसाको पर्सागढी नगरपालिका–१ सिर्जनाटोलका २४ वर्षीय रमेश पहरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका –८ का २३ वर्षीय सूर्य भण्डारीलाई हत्या आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो।
घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका –४ कप्तान टोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१८ वर्ष अघिको रिसइबी लिएर उनीहरूले गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका –३ गैँडाटारका ५० वर्षीय रोहिणी प्रसाद घोरासैनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ।
कालापानी सामुदायिक जङ्गलमा हत्या गरेपछि घोरासैनीको शव साढे तीन फिटको रुखमा झुण्डयाएर आत्महत्याको रुप दिन खोजिएको थियो ।
चन्द्रपुर ४ कप्तान टोलका सहदेव वोलखेको घरका सदस्यहरू बिरामी भइरहने भए पछि गाँउमै धामीको काम गर्ने स्वर्गीय घोरासैनीलाई त्यसको दोष लगाउदै आएका थिए। उनकै कारणले घरका मान्छे रोगी भएको भन्दै हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी गराएका छन्।
घोरासैनीको हत्याका मुख्य योजनाकार बोलखेले फुयाँलमार्फत् पहरी र भण्डारीलाई हत्या गरेबापत ३ लाख दिएको खुल्न आएको छ । हत्यामा संलग्न रमेश पहरीले सहदेव बोलखे मार्फत विभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सूर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।