काठमाडौँ / दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । 

राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । 

OM Sai Pathibhara Hospital

सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन थालेको छ ।  

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउन्टर थप गरेको छ । 

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउन्टर थप गरिएको जानकारी दिए । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ । 

सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ । 

यस्तै, दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उनले बताए । बसपार्कबाट हाल ३२ टिकट काउण्टरमार्फत कम्प्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ ।