बिर्तामोड / गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।
आचार्यले एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनले भने, –‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ । त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।’
उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरूप प्रयोग गरेको आरोप लगाए ।
आचार्यले आफू विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा समेत गरेका छन् ।