काठमाडौँ / काठमाडौँ महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकाशेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकाशेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन् ।
प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकाशेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको शाक्यले बताए ।
“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा –१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने ।
उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनी भन्छन्, –“ट्याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनि पठाइन्छ । यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ ।”