बिर्तामोड / अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ । ‘अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन’ उनले भनिन् ।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ ।
यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।
यसपालि नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ ।
आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।