बैतडी / बैतडीको सुर्नया गाउँपालिका –४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्नया गाउँपालिका –५ का रामबहादुर मडै, वडा नम्बर –४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरा रहेका छन् ।
यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
सुर्नया गाउँपालिका –४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशङ्कामा प्रहरीले खोजी सुरु गरेको थियो ।
अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।