बिर्तामोड / झापाको दमकमा प्रहरीले जुवाको अखडामा छापा मार्दा १७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुरका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कन्काई नगरपालिकाका मोहन बराल, सुनिल साह, मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी र रूपेश तामाङ रहेका छन् ।
त्यस्तै पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत र गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेवे रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक –१ का हिमाल देवानको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट चार लाख २७ हजार रुपैयाँ र कौडा बरामद गरेका छन् । जुवाको अखडाबाट भाग्ने क्रममा लडेर भद्रपुर –१० का ठाकुरप्रसाद निरौला घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घाइते निरौलाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।