धनगढी / कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणमा परी नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सोमबार साँझ करिब ८ बजे दोधाराचाँदनी नगरपालिका –८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका थिए ।
आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरूको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासि उनीहरूले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए ।
तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०/४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐर बताएका छन् ।