मोरङ// मोरङस्थित कारागारमा सजाय काटिरहेका एक दीर्घरोगी वृद्धलाई घाट पठाएको छ ।
जिल्ला अदालत मोरङको फरार अभियुक्त सूचीमा रहेका ८६ वर्षीय उजारु विश्वास थारूलाई कारागारले घाट पठाएको हो ।
२०४२ भदौमा साविक थलाहा गाविस–१ (हालको कटहरी गाउँपालिका–७) मा भएको ‘खुन डाँका’ घटनामा फरार रहेका उनी ३७ वर्षपछि गत भदौ ९ गते पक्राउ परेका थिए ।
कुनै पनि कैदीबन्दीको उपचार सम्भव नभएको (मर्नु र बाँच्नु दोसाँध रहेको अवस्थामा चिकित्सकको सिफारिसमा घाट पठाउने व्यवस्था भएअनुसार पठाइएको पोखरेलले बताएका छन् ।
उजारुलाई कोसी अस्पतालका चिकित्सकले उपचार सम्भव नभएको भनी सिफारिस गरेका थिए ।
उनी मुटु, मिर्गौला, उच्च रक्तचाप र प्रोस्टेटका दीर्घरोगी भएको अस्पतालले जनाएको छ ।
उनलाई काठमाडौँको ग्राण्डी अस्पतालले पनि दीर्घ रोगी भएको पुष्टि गरेको छ ।
कारागारले उजारुलाई घाट पठाए पनि परिवारले भने उनलाई घर लगेका छन् ।
परिवारले उनको अवस्थाबारे प्रत्येक साता कारागारलाई लिखित जानकारी गराउनु पर्ने ऐनमा उल्लेख रहेको पोखरेलले बताएका छन् ।
जिल्ला अदालतले उनको ७५ प्रतिशत कैद छुट गर्दै हेरचाह केन्द्रमा नराखी कैदीबन्दीको सुविधा दिएर कारागार पठाएको उनको पक्षमा बहस गरेका अधिवक्ता प्राध्यापक भोजराज श्रेष्ठले बताएका छन् ।
मुलुकमा कही पनि हेरचाह केन्द्र स्थापना नभएकाले मोरङ कारागारले उजारुलाई कैदीबन्दीका रुपमा स्वीकार नगरी कारागार ऐनअनुसार घाट पठाउने व्यवस्थाअनुसार हेरचाहका लागि घर पठाएको अधिवक्ता श्रेष्ठले बताएका छन्।