बिर्तामोड / झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ ।

प्रशासनिक भवन निर्माणका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । 

OM Sai Pathibhara Hospital

भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ भवनको तल्लो तलामा ज्येष्ठ र अशक्त कैदीबन्दीलाई राखिनेछ । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गत फागुनमा शिवरात्रिको अवसर पारेर भवनको शिलान्यास गरेका थिए । आज उनले नै संविधान दिवसको अवसर पारेर भवनको उद्घाटन गरेका छन् ।

भद्रपुर नगरपालिका–८ मा पाँच दशक अघि बनाइएको झापा कारागारको पुरानो भवनमा २५० कैदीबन्दी अट्ने क्षमता छ । जीर्ण र पानी चुहिने अवस्थाको पुरानो भवनमा हाल एक हजार २०० कैदीबन्दी कष्टपूर्वक बस्दै आएका छन् । 

प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सङ्घीय सरकारले कारागारको प्रशासन भवन बनाउन बजेट पठाएको भएता पनि कारागारका कैदीबन्दीको बिजोग अवस्था देखेर बजेट संशोधन गरी उनीहरु बस्ने भवन नै बनाइएको बताए ।

कारागारका प्रमुख (जेलर) राजेन्द्र गौतमले नयाँ भवनमा ३५० जना कैदीबन्दीलाई राख्न सकिने जानकारी दिए । “कर्मचारीलाई प्रशासनिक भवन नचाहिएको होइन”, उनले भने, “तर, कारागारभित्र कैदीबन्दी खाँदाखाँद गरेर बस्नु पर्ने दयनीय अवस्था देखेर हामीले उनीहरूकै लागि भवन थप्नुपर्छ भन्ने सोच्यौं ।”

यसैबीच, संविधान दिवसका अवसर पारेर कारागारका कैदीबन्दीलाई खेलकुदका सामान आज हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिकाको सहयोगमा ती सामान प्रदान गरिएका हुन् । 

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बन्दी विकास पुस्तकालयलाई खेलकुदका सामान हस्तान्तरण गरेका थिए ।

समाजसेवी मीरा थापाले नयाँ भवनमा कैदीबन्दीका लागि ५५ इञ्चको एलइडी टेलिभिजन सहयोगस्वरूप प्रदान गरेकी छिन् ।