काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार जनसमुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।
कुमारी इन्द्रजात्रा पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।
उनले समृद्ध इतिहास र परम्पराका जीवन्त उदाहरणका रूपमा रहेका कुमारी इन्द्रजात्रा जस्ता मौलिक पर्वहरूको संरक्षण गरी भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
कोभिड –१९ को महामारीबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्दै सावधानीपूर्वक चाडपर्वहरू मनाउन सम्बद्ध सबैमा आह्वान गर्दै उनले कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गगरेकी छिन् ।
यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना एवं जीवित देवी कुमारी र गणेश तथा भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा छ ।