बिर्तामोड / उध्योगी र व्यवसायीले राजश्व छल्नका लागि अनेकौं हतकण्डा प्रयोग गर्ने गर्छन । कर छल्नकै लागि मदिरा र सुर्तिजन्य उध्योगले नक्कली स्टिकर प्रयोग गर्ने गरेको नयाँ भने हैन । विगतमा राजश्व अनुसन्धान र राजश्व विभागको सक्रियताका कारण रोकिएको नक्कली स्टीकरको धन्दा फेरि मौलाएको पाइएको छ ।
राजश्व छली रोक्नका लागि मदिरा उध्योग र ठूला सुर्तिजन्य पदार्थ उत्पादन गर्ने उध्योगमा राजश्व विभागले २४ घण्टाका लागि कर्मचारी नै खटाउने समेत गरेको छ । विगतमा पनि कर्मचारी र उध्योगीको मिलेमतोमा नक्कली स्टिकर प्रयोग गरेर अन्तशुल्क लगायतका कर छल्ने गरेको खुलेपछि विभागले कारवाही गरेको थियो । विभागको कारवाहीका कारण केही उध्योगका सञ्चालक अहिले सम्म पनि जेलमा नै रहेका छन् भने केही उध्योग बन्द भएका छन् ।
झापाको बिर्तामोड क्षेत्रमा रहेको सुर्तिजन्य उध्योगले नक्कली स्टिकर प्रयोग गर्ने गरेको करिव पाँच वर्ष अघि सुनसरीको धरानबाट सञ्चालित एक दैनिक पत्रिकाबाट समाचार सार्वजनिक भएपछि विभागले देशभरका उध्योगमा छापा मारेर कारवाही गरेको थियो ।
त्यसपछि रोकिएको नक्कली स्टिकर प्रयोगको धन्दा अस्थिर सरकार , राजनीतिक अस्थिरता र कोरोना कालमा मुलुक रहेको मौका छोपेर मौलाएको छ । विगतमा उध्योगी र उध्योगमा खटिएका राजश्वका कर्मचारीको मिलेमतोमा हुने गरेको यो काममा अहिले भन्सार समेत जोडिएको छ । अवैध बाटोबाट नक्कली स्टिकर ल्याएर उध्योगीले आफ्ना उत्पादनमा प्रयोग गर्ने गरेका थिए ।
केही समय अघि रूपन्देहीबाट शसस्त्र प्रहरीले नक्कली स्टिकर सहित बरामद गरेपछि भइरहेको अनुसन्धानका क्रममा भन्सारबाटै नक्कलि स्टिकर नेपाल भित्रिएको खुलेको हो । पक्राउ परेकाको बयानका आधारमा राजश्व अनुसन्धान विभागले यतिबेला रूपन्देहीको तिलोत्तमा–१७ मधवलियामा रहेको क्रिष्टल डिस्टिलरीले ल्याएको खुलेपछि उध्योग नै सिल गरेर अनुसन्धान गरिरहेको छ ।
गत भदौ ५ गते २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको मदिरामा प्रयोग हुने नक्कली स्टीकर भेटिएको थियो । लु २ च २५० नम्बरको गाडीमा भारततर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा स्टीकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अलीलाई समेत सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
क्रिष्टलका उत्पादनमा नक्कली स्टिकर प्रयोग भएको पाइएपछि विभागले उध्योग नै सिल गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा क्रिष्टलले प्रयोग गरेको स्टिकर भन्सारबाट नै लिच्ची देखाएर ल्याएको खुलेको छ । नक्कली स्टिकर फरक बस्तु देखाएर भन्सारबाटै ल्याएको खुलेपछि विभागले भन्सारका कर्मचारीलाई पनि अनुसन्धानको दायरमा राखेर छानविन अघि बढाएको छ ।
क्रिष्टलले नक्कली स्टिकर प्रयोग गर्ने गरेको खुलेपछि विभागले भैरहवा क्षेत्रका अन्य मदिरा उध्योगमा समेत छापा मारेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सोही क्षेत्रमा रहेको अर्को उध्योग माउन्ट एभरेष्ट डिस्टिलरीले पनि नक्कली स्टिकर प्रयोग गर्ने गरेको राजश्व अनुसन्धान विभागले आशंका गरेको छ । माउन्ट एभरेष्टबाट बरामद स्टिकर परिक्षणको काम भइरहेको विभागका एक उच्च अधिकारीले जानकारी गराएका छन् ।
रुपन्देही गृहजिल्ला भएका पुर्व अर्थमन्त्री एवं एमालेका महासचिव विष्णु पौडेल निकट मानिएका उध्योगीलाई कारवाहीबाट जोगाउने कोसीश भइरहेको सार्वजनिक भएपछि विभागको केन्द्रिय कार्यालयले छानविन अघि बढाएको हो । विभागले छापा मारेको अर्को उद्योगका संचालक गोविन्द श्रेष्ठ पनि एमाले नेता पौडेल निकट मानिन्छन् ।
राजस्व अनुसन्धान विभागको बुटवल स्थित कार्यालयका प्रमुख राजन बिसीले पनि विभागले थप केही उध्योगमा छापा मारेको पुष्टि गरेका छन् । उनले अनुशन्धानकै क्रममा रहेकोले पूर्ण विवरण सार्वजनिक गर्न नसकिने जनाएका छन् ।