बिर्तामोड / सुन तस्करीमा संलग्नले स्वदेश भित्र समेत तस्करीका लागि श्री एयरलाइन्स सहितका जहाज र विमानस्थल प्रयोग गर्ने गरेको पाइएको छ । केही दिनको फरकमा भएका सुन बरामदका घटनाले तस्करीमा संलग्नले विमानस्थल र निजी वायु सेवा कम्पनीका जहाज प्रयोग गर्ने गरेको खुलेको हो ।
तस्करी भएर काठमाण्डौ सम्म आएको सुन अन्य शहरमा पुर्याउन तस्करीमा संलग्नले त्रिभुवन विमानस्थल र निजी कम्पनीका जहाज प्रयोग गर्ने गरेको पुष्टि भएको छ । दुई साताको अवधिमा विमानस्थल क्षेत्रबाट नै ठुलो परिमाणमा अवैध सुन बरामद भएपछि तस्करीमा संलग्नले विमानस्थल प्रयोग गर्ने गरेको पुष्टि भएको हो ।
प्रहरीले नेपालगञ्ज र काठमाण्डौ विमानस्थलबाट करिव सवा ७ किलो सुन बरामद गरेपछि सुन तस्करी नरोकिएको र तस्करीमा संलग्नले हवाई रुट प्रयोग गर्ने गरेको खुलेको हो । बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका विषयमा सरकारले बनाएको छानविन समितिको सिफारिसमा भएको कारवाहीपछि तस्करी रोकिएको अनुमान गरिएको थियो । प्रधानमन्त्री र गृहमन्त्री सम्मले तस्करी रोकिएको र तस्करीमा संलग्न गिरोहको जालो नै ध्वस्त बनेको दावी समेत गरेका थिए ।
मंगलबार श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी लाई ३ किलो ३६० ग्राम तौल रहेका सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
बरामद भएको सुनको बजार मूल्य २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाले विराटनगर र धरानका व्यवसायीका लागि सुनका गहना लगेको र बरामद सुनका गहनाको बिल दिन नसकेकाले तस्करी भएर आएको सुन नै भएको प्रहरीले जानकारी गराएको छ । पक्राउ परेका काठमाण्डौ विमानस्थल हुँदै पटक – पटक विराटनगर सम्म गएको ट्राभल हिस्ट्री पाइएकाले सुन तस्करीमा संलग्न गिरोह फेरि सकृय बनेको प्रहरीले समेत निष्कर्ष निकालेको छ ।
गत भाद्र १७ गते पनि काठमाण्डौ विमानस्थलबाटै श्रीएयरको जहाजमा नेपालगञ्ज पुगेका झापा खुदुनाबारीका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङको लेटाङ का २६ वर्षीय बुद्धिमान खातीलाई प्रहरीले ४ किलो २१ दशमलब ४९ ग्राम सुन सहित पक्राउ गरेको थियो । नेपालगञ्जबाट पक्राउ परेका दुवै जना पनि पटक – पटक श्रीएयर सहितका जहाजबाट नेपालगञ्ज पुगेको पाइएको छ ।
काठमाण्डौ विमानस्थल प्रयोग गरेर विदेशबाट तस्करी भएर आउने सुन त्यही विमानस्थल हुँदै देशका अन्य शहरमा पुग्ने गरेको खुलेपछि फेरि प्रहरीले तस्करीका विषयमा छुट्टै संयन्त्र बनाएर छानविन थालेको छ ।
पक्राउ परेका चार जनालाई नै प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि भन्दै राजश्व अनुसन्धानको जिम्मा लगाएको छ । विमानस्थलबाट सुन सहित पक्राउ परेका अनि उनीसँग जोडिएका कारोबारीका विषयमा यतिबेला राजश्व र प्रहरीले छानविन गरिरहेका छन् भने अध्यागमन विभागले पनि विमानस्थल प्रयोग गरी हुने गरेको तस्करीका विषयमा छानविन थालेको छ ।
पक्राउ परेका चारै जनाले श्रीएयरको जहाज प्रयोग गर्ने गरेको पाईएपछि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ परेकाको ट्राभल हिष्ट्रिका आधारमा विमान कम्पनीमाथि समेत निगरानी थालेको प्रहरी स्रोतले जानकारी गराएको छ । नेपालगञ्ज र काठमाण्डौमा पक्राउ परेकाले श्रीएयरको जहाज प्रयोग गर्ने गरेको पाईएपछि विगतमा जसरी फ्लाई दुवई र थाई एयर प्रयोग भएको हुन सक्ने अनुमान गर्दै वायु सेवा कम्पनीलाई समेत छानविनको दायरमा राखेर अनुसन्धान गरीरहेको प्रहरी स्रोतको भनाई छ ।