खैरहनी / इलाका प्रहरी कार्यालय खैरहनीले मङ्गलबार साँझ जुवा खेलिरहेको अवस्थामा आठलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित उनीहरुलाई कृष्ण श्रेष्ठको घरबाट नगद रु एक लाख ४४ हजार १७० सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्षीय केशवप्रसाद तिमिल्सिना र वडा नं ५ का ३५ वर्षीय सुदन धरेल रहेका छन् ।
उनीहरुलाई मुलुकी आपाराधिसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिकहित स्वास्थ्यसुरक्षा र नैतिकता विरुद्धको कसूर अन्तर्गत दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने ऐन अनुसार कारवाही हुने उनले जानकारी दिए । उनीहरुलाई तीन महिना कैद वा रु ३० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ ।