कावासोती / पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका –८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेका छन् । 

OM Sai Pathibhara Hospital

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट –१० स्थित २३ स्मृति पुल नजिक एकआपसमा आज (मंगलबार) बिहान ठोक्किएका थिए ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । 

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी  ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।