ओखलढुङ्गा / ओखलढुङ्गामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठ रहेका छन् ।
आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा बा११च ५२१० नम्बरको टाटा सुमो दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।
घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन् । दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ ।
सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए ।
दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्लेसहितको प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ ।