काठमाण्डौ / नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नक्कली नोटका विषयमा चलाएको अप्रेसनका क्रममा चर्चित कलाकार युवाराज लामा विवादमा तानिएका छन् ।
सीआईबीकाे टोलीले कलाकार लामाको बाराको निजगढमा रहेको होटल छापा मारी नक्कली नोटको कारोबारमा संलग्न गिरोहका चार जनालाई पक्राउ गरेपछि लामा विवादमा तानिएका हुन् । लामाको होटल ‘तारा इन’बाट गिरोहका ४ जनालाई सिआईबीले शनिवार पक्राउ गरेको छ ।
सिआईबीको टोलीले रौतहटको चन्द्रनिगाहापुरबाट नक्कली नेपाली नोटको कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट सिआईबीले सक्कली र नक्कली मिसिएको ९३ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
नक्कली नोट कारोबारको सूचना पाएर निजगढ पुगेको सिआईबीको टोलीले पक्राउ परेकाको साथमा रहेको बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ ।
पक्राउ परेका पाँचै जनालाई सिआईबीले राति कलाकार लामाको होटल ‘तारा इन’मै राखेर आइतबार बिहान बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
थप व्यक्ति समेत पक्राउ गर्न बाँकी रहेकाले प्रहरीले पक्राउ परेकाको परिचय भने गोप्य राखेको छ । अनुसन्धानमा संलग्न सिआईबीका अधिकारीले पक्राउ परेकाले भारतमा नोट छापेर नेपालमा ल्याएर कारोबार गर्ने गरेको खुलेको बताएका छन् ।