बिर्तामोड / एक महिनाको अवधिमा झापाका फरक –फरक स्थानमा भेटिएका महिलाका शवले प्रहरीलाई अनुसन्धानमा तनाव थपिएको छ । दुई साताकै अवधिमा झपाका फरक–फरक स्थानमा शंकास्पद अवस्थामा ४ महिलाको शव भेटिएको छ ।
प्रहरीले झापा गाउँपालिकाको फरक फरक ठाउँमा शुक्रबार मात्रै दुई महिलाको शव फेला परेको जनाएको छ । सानो माई खोला किनारमा पानीमा घोप्टो परेको अवस्थामा महिलाको अर्धनग्न शव फेला परेको थियो । पहिचान नखुलेको महिलाको शव पोस्टमार्टम गरी प्रहरीले अनुसन्धान थालेको छ ।
शुक्रबार नै झापा गाउँपालिका ५ को सन्थालमा पनि ५५ वर्षीया मञ्जु टुडुको शव फेला परेको थियो । घरको सिकुवामा मृत अवस्थामा फेला परेकि टुडुको मृत्युको कारण पनि खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत भदौ २० मा पनि एकै दिन फरक–फरक दुई स्थानमा महिलाकै वेवारिसे शब भेटिएको थियो । कन्काई र देउनिया खोलामा दुई महिलाको शव फेला परेको थियो। ती शवको अझै सम्म सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाले वेवारिसे अवस्थामा भेटिएका महिलाका शवको अनुसन्धान भइरहेको जनाएको छ । शब सनाखत नहुँदा अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ ।