बिर्तामोड / झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थ लागिरहेको अवस्थामा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४डी २४४१ नंको खाली मिनिट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले दिउँसो मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर –६ स्थित पूर्वाञ्चल पेट्रोलपम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो । 

सो सूचना पाएपछि प्रहरीले ट्रक, ट्रकचालक भारत पश्चिम बङ्गाल नक्सलबारीका ३० वर्षीय विकास दास र सहचालक सोही स्थानमा ३४ वर्षीय सुजल साहलाई नियन्त्रणमा लिएको छ भने रू सात लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइएको छ ।

भारतको पश्चिम बङ्गालभन्दा झापामा प्रतिलिटर डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । भारतको पश्चिम बङ्गालमा डिजेल प्रतिलिटर भारु ९१ रुपैयाँ ७१ पैसा (नेपाली १४६ रुपैयाँ ७३ पैसा) पर्छ भने झापामा डिजेल प्रतिलिटर १११ रुपैयाँ ५० पैसामा पाइन्छ ।