विराटनगर / गाँजा सहित पक्राउ परेका व्यक्तिको हिरासतमा नै रहेको समयमा मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विराटनगर ११ का ३७ वर्षीय भीम कामतको आइतबार अदालत लाने तयारी भइरहेको समयमा मृत्यु भएको थियो ।
कामतका आफन्तले रहस्मय तरिकाले मृत्यु भएको भन्दै छानबिन समिति गठन , दोषी प्रहरीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सोमवार विराटनगरमा प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि उनीहरूले सडकमा टायर बालेर कामतका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । आन्दोलनकारीले मृतक कामतको खुट्टामा निलो डाम र शरीरमा पनि चोटपटक रहेकाले यातनाका कारण उनको मृत्यु दावी समेत गरेका छन् ।
कामतलाई विराटनगर ११ स्थित उनकै घरबाट गत शुक्रबार साढे ३ केजी गाँजासहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कामत बिरामी जस्तो देखिएपछि उपचारका लागि लगिएको अनि उनको उपचारको क्रममा नै मृत्यु भएको बताएका छन् । उनले प्रहरीले हिरासतमा यातना दिएको कुरामा सत्यता नरहेको समेत दावी गरेका छन् ।
यसैबीच कामतका विषयमा सुरु भएको आन्दोलन चर्किने अवस्था बनेपछि स्थानीय प्रशासनले घटनाका विषयमा छानविन गर्न समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको उपस्थितिमा सम्पन्न बैठकले सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको हो ।
छानविन समितिको सदस्यमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी, विराटनगर महानगरपालिका ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १२ का वडाध्यक्ष हिरालाल कामत र वीरेन्द्र कुमार कार्की सदस्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ ।