माओवादी केन्द्रका प्रभावशाली नेता एवं संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माकी १२ वर्षीया धर्मपुत्री अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको बालगृहमा नै बलात्कृत भएको घटना सार्वजनिक भएको छ । शिक्षा दिक्षाका लागि भन्दै आफैँले उद्घाटन गरेको बालगृहमा शर्माले पीडित बालिकालाई ०७४ सालमा लगेर राखेका थिए ।
पश्चिम रुकुमको रवि आठबिसकोट नगरपालिका वडा नं.१० का वडाध्यक्ष गंगाराम चदाराकी श्रीमती सुनिता चदाराले सञ्चालन गरेको ‘सिस्ने हिमाल बालगृहमा बलात्कार भएको सार्वजनिक भएको हो ।
बालगृह संचालककै छोरा रवि भनिने कुस्माकर चनाराले लकडाउनको समयमा पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । बलात्कारका कारण उनको पेटमा १० साताको गर्भ समेत रहेको स्वास्थ्य परीक्षणका क्रममा खुलेको छ । बालगृह भित्र दिइएको यातना र बलात्कारको घटना सार्वजनिक भएपछि बालिकालाई आठबीसकोट नगर अस्पताल लगेर स्वास्थ्य परिक्षण गरिएको छ ।
बालगृहमा भएको शोषण र बलात्कारका विषयमा पीडित बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिँदै आफूमाथि पटक–पटक बलात्कार भएको जानकारी गराएकी छन् ।
जाहेरीमा उनले वि.स. २०७७ र २०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएको उल्लेख गरेकी छन् ।
बालिकाले बालगृह सञ्चालिका चदाराले आफू सहित बालगृहमा रहेका अन्यलाई आफ्नो निजी काममा समेत लगाउने गरेको पनि जाहेरीमा खुलाएकी छन् ।
जाहेरीमा पीडित बालिकाले कुखुराको खोरमा दाना हाल्न गएको समयमा रविले आफूलाई मुख थुनेर पहिलो पटक बलात्कार गरेको खुलाएकी छन् ।
बालिकाको पेटमा गर्भ रहेको हल्ला फैलिएपछि मात्रै घटना सार्वजनिक भएको हो । हल्ला सुनेपछि आठबिसकोट नगरपालिका न्यायिक समितिकी संयोजक गीता नेपालीले बालिकालाई अस्पताल स्वास्थ्य परिक्षण गराउँदा गर्भ रहेको खुलेपछि यो विषय सार्वजनिक भएको हो ।
घटना सार्वजनिक भए लगत्तै प्रहरीले बलात्कारमा संलग्नको खोजीलाई तिव्र वनाएको छ । जिल्ला प्रहरी कार्यालयले पिडीतको जाहेरी आएको र घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जनाएको छ ।