बिर्तामोड / परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग सहकार्य गर्ने भएको छ । कन्सुलर सेवा विभागले यसै साताबाट स्थानीय सरकारसँग सहकार्य गर्ने भएको हो ।

विदेशमा अलपत्र परेका, उपचार गर्न आवश्यक भएका, शव ल्याउनुपर्ने अवस्थाका, क्षतिपूर्ति, मुद्दा लड्ने काम र खोजतलास लगायत सम्पूर्ण कन्सुलरसम्बन्धी ठीक ढङ्गले अघि बढाउन स्थानीय तहसँग सहकार्य गर्न लागिएको विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

स्थानीय तहसँगको सहकार्यमा विदेशमा लाखौँको सङ्ख्यामा अध्ययन, रोजगारीलगायत विभिन्न पेशा व्यवसायमा रहेकालाई कुनै समस्या परेका खण्डमा बसेकै ठाउँबाट निवेदन दिन सकिने सुविधासहित विभागले यही भदौ २५ गतेदेखि सेवा सुरु गर्दैछ ।

विभागले स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम गर्ने क्रममा काठमाडौँबाटै यो सेवा प्रारम्भ गर्ने छ । विदेशमा स्थानीय कानुनअनुसार आवश्यक कागजात तयार गरी प्रस्तुत गर्नपर्ने भएकाले तयार गर्ने क्रममा कमजोरी र त्रुटि नहोस् भन्नाका लागि सम्पर्क/सञ्चार स्थापित गरी सहकार्य अत्यावश्यक भएको जानकारी दिइएको छ ।

विदेशमा रहेका नेपालीलाई परेको समस्या समाधान गर्न कागजपत्र जुटाउन सहजताका लागि हरेक स्थानीयवासीलाई अनलाइन प्रणालीमा जोड्ने तयारी भइरहेको उनले बताए । 

सूचना प्रविधिका आधारमा संयन्त्र विकास गरी स्थानीय निकायले विदेशमा समस्यामा परेका नागरिकका कागजातको प्रगति, अनुगमन  र सेवामा ढिलाइ भएमा अनुरोध गरेर पठाउन सक्नेसहितको सेवा प्रदान हुने छ ।

स्थानीय सरकारले विवाह, जन्मदर्ता, नाताप्रमाणित लगायत सबै कागजात जारी गर्ने र कन्सुलर विभागका कुनै पनि शाखा, एकाइ स्थानीय तहमा नरहेकाले सहकार्यको आवश्यकता खड्किएको हो । कोरोना र बजेटलगायत कारण एकैसाथ ७५३ स्थानीय तहमा पुग्न कठिन भएकाले अर्को वर्ष सबै तहमा पुग्ने लक्ष्य बनाइएको विभागले जनाएको छ ।