काठमाडौं / गएराती देखि लगातार परेको वर्षाका कारण काठमाडौं उपत्यका सहित आसपासको क्षेत्र जलमग्न भएको छ । उपत्यका सहित आसपासका क्षेत्रमा रहेका नदी र खोलामा पानीको सतह समेत उच्च बनेको छ ।
काठमाडाैँ उपत्यकाका बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खु खोला, मनोहरा खोला र सामाखुशी खोला लगायतका नदी र खोलामा आएको बाढीले नदी आसपासको बस्ती प्रभावित बनेको छ ।
लगातारको वर्षा र बाढीका कारण उपत्यकामा करिब ४ सय घर डुबानमा परेका छन् भने सुरक्षाकर्मीले डुबान रहेका क्षेत्रबाट करिव १ सय ५० जनाको उद्धार गरेको छ । वर्षा र बाढीले नदी तथा खोला आसपासको क्षेत्रमा रहेका सुकुम्बासी बस्ती जोखिममा परेको छ ।
उपत्यका भित्रको तरकारी बजार भएको क्षेत्र बल्खु , टेकु र कालीमाटी पनि नराम्रोसँग प्रभावित बनेको छ ।
त्यसैगरी कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, तल्लो नेपालटार, शंखमूल क्षेत्र , गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्र पनि डुबानमा परेको छ । पानीले सडक पनि डुबाएपछि नदी किनारका सडक अवरुद्ध भएका छन् भने उपत्यकाका सडकमा पानीका कारण यातायात व्यवस्था प्रभावित बनेको छ ।
उपत्यकामा राती ३ बजदेखि बिहान ६ बजेसम्मको ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । छोटो समयमा यति धेरै वर्षा पहिलो पटक भएको पनि महाशाखाले जनाएको छ ।