विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थुनामा रहेका एक थुनुवाको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले छानविनको माग गरेका छन् ।  

गत शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर ११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएपछि  आक्रोशित बनेका आफन्तले मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गरेका हुन् । विराटनगरको जनपथ टोलबाट साढे तीन किलो गाँजासहित शुक्रबार कामत पक्राउ परेका थिए ।

हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। कामतको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतककी श्रीमती यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेका व्यक्तिको ज्यान जाने घटना रहस्यमय भएको भन्दै सो विषयमा छानविनको माग गरेका छन् ।

शुक्रबार पक्राउ परेका यादवमाथि प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी गरेको थियो । अदालत लैजान  बाहिर निकाल्दा उनी ढलेका थिए। रिङ्गटा लाग्यो भन्दै ढलेका उनलाई अस्पताल लगेलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।