बिर्तामोड //बिर्तामोडमा  दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबारदेखि शुरु भएको छ ।

नेपाल पत्रकार महासंघ झापा र शेयरकास्ट इनिसिएटिभ नेपालले आयोजना गरेको दुई दिवसीय खोज पत्रकारिता तालिम शुरु  भएको हो।

OM Sai Pathibhara Hospital

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको उद्घाटन गरेका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको  उद्घाटन समारोहलाई  बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए ।

तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले औचित्य माथि प्रकाश पार्दै पत्रकार र पत्रकारिताका विषयमा सरकार र समाजमा उठ्ने प्रश्नहरुको बारेमा प्रस्ट्याएका थिए ।

थापाले स्थानीय सरकारले सम्पादन गर्ने कार्यहरु, कार्यक्रम निर्माण तथा बजेट विनियोजन प्रक्रिया र कार्यसम्पादनका बारेमा आम जनतालाई सुसूचित गराउने सवालहरु बारे बताएका हुन् ।

तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले खोजमूलक र मर्यादित पत्रकारितामा अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह समेत गरेका थिए ।

पत्रकारिताको नाममा गलत कार्य गर्न कसैलाई पनि छुट नहुने र गलत गर्नेहरुलाई दण्डित गर्नुपर्नेमा भण्डारीको जोड रहेको थियो ।

बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले पत्रकारितामा नकारात्मक मात्र लेख्ने र पार्टी पत्रकारिता मौलाएको गुनासो समेत गरेका थिए ।

नकारात्मक मात्र लेखेर कसैलाई खुइल्याउने भन्दा पनि लेखन तथ्यपरक हुनुपर्ने र स्थानीय सरकारका सकारात्मक कार्यहरु पनि सञ्चारमाध्यममा उत्तिकै प्राथमिकतामा पर्नुपर्ने शिवाकोटीले बताएका छन् ।

यसैगरी दमक नगरपालिकाका मेयर ओलीले स्थानीय सरकारको ठूलो जिम्मेवारीसँगै त्यहाँभित्र धेरै सवालहरु विद्यमान रहेको तर त्यस विषयमा मिडियाको उचित ध्यान नपुगेको बताएका छन् ।

ओलीले खोजमूलक पत्रकारितामा जोड दिँदै तथ्यपरक र सकारात्मक विषयवस्तु पनि उजागर गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाईले संस्थाको गतिविधि र पत्रकार महासंघसँगको सहकार्यबारे प्रस्ट्याएका थिए ।

महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए

।दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता रहेको थियो  ।