प्रहरीले जुत्ताको तलुवा रहेको भागमा लुकाएर श्री एयरलाइन्स हुदैँ काठमाण्डौबाट नेपालगन्ज पुगेका झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङको लेटाङका २८ बर्षिया बुद्धिमान खातीलाई पक्राउ गरेपछि तस्करीमा संलग्नले देशभित्र समेत हवाई मार्ग प्रयोग गरिरहेको खुलेको हो ।
काठमाण्डौ र नेपालगन्ज विमानस्थलको कडा चेकजाँच अनि सुरक्षा घेरा हुँदै बाहिर निस्किएको समयमा बाँके प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि विगतमा जसरी नै प्रहरी र सरकारी अधिकारीको सहयोगमा सङ्गठित रुपमा सुन तस्करी भइरहेको आशंका गरिएको छ ।
बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणको विषयमा छानविनमा संलग्न एक सदस्यले सरकारलाई बुझाएको प्रतिवेदन गोप्य राखेर थप छानविन अघि नबढाउँदा तस्करीमा संलग्नले तस्करी जारी राखेको आशंका गरेका छन् ।
उनले नेपालगन्ज घटनाको विषयमा मिहिन अनुसन्धान गरेको खण्डमा पक्राउ परेकाहरूले अन्य विमानस्थल पनि प्रयोग गरेको हुन सक्ने भएकाले कडाइ पूर्वक छानविन थाल्न गृह मन्त्रालयलाई सुझाव समेत दिएका छन् ।
वितगमा बनेको छानविन समितिलाई झापाको बिर्तामोड देखि बाँकेको नेपालगन्ज सम्मका तस्करीमा संलग्न सुन कारोबारीको विषयमा सूचना प्राप्त भएको भएपनि समय अभावका कारण थप छानविन गर्न नसकेको उनले जानकारी पनि गराएका छन् । थप छानविन आवश्यक रहेको भनेर सरकारलाई बुझाइएको प्रतिवेदन अनुसार सरकारले कारवाही अघि नबढाएकाले नै स्वदेशभित्रै समेत हवाई रुटबाट तस्करी सुरु भएको उनको भनाई छ ।
शाक्यको हत्यापछि खुलेको बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणका विषयमा छानविन गर्न गठित समितिले सरकारलाई विवादास्पद छविका व्यवसायी दीपक मल्होत्रा सहित बिर्तामोड देखि बाँके सम्मका करिव २०० सुन कारोवारीका विषयमा थप छानविन आवश्यक रहेको भन्दै प्रतिवेदन बुझाएको थियो ।
छानविन समितिले तत्कालिन महान्याधिवक्ता अग्नि खरेलका पारिवारीक नातेदार सम्मलाई सुन तस्करीमा संलग्न रहेको अभियोग लगाएपछि छानविन समितिलाई थप समय नदिई छानविन स्थगन गरिएको थियो । सुन तस्करीको नाईके भनेर चिनिएका चुणामणि उपे्रतीकी श्रीमति नेता अग्नि खरेलको नातेदार भएकैले छानविन स्थगन गराईएको आरोप लाग्ने गरेको छ ।
तत्कालिन प्रधानमन्त्रीकै निर्देशनमा छानविन समितिलाई थप समय नदिएको र प्रतिवेदन समेत गोप्य राखिएको थियो ।
विमानस्थल हुँदै सुन तस्करी हुने गरेको खुलेपछि सामाजिक संजाल मार्फत तस्करीका विषयमा चासो राख्नेले प्रतिवेदनमा थप छानविन आवश्यक रहेको भनिएका माथि छानविन गरेर ओली सरकारले संरक्षण गरेका सुन तस्करमाथि कारवाही गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।
विमानस्थल हुदैँ सुन तस्करी हुने गरेको खुलेपछि त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले घटनाका विषयमा गहन अनुसन्धान थालिएको बताएका छन् । उनले विमानस्थलको सुरक्षा घेरा पार गरेर नेपालगंजको विमानस्थलबाट समेत वाहिरीएको विषयमा प्रहरी हेडक्वाटरको निर्देशनमा छानविन अघि वढाईएको बताएका छन् ।
प्रहरी हेडक्वाटरको निर्देशनमा बाँके प्रहरी , विमानस्थल प्रहरी , अपराध महाशाखा , केन्द्रिय अनुसन्धान व्यूरो र प्रहरी प्रधान कार्यालयले छुट्टा छुट्टै रुपमा छानविन सुरु गरेको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ ।
उता गृहमन्त्रालयले पनि सुन तस्करीको घटनालाई गम्भिर रुपमा लिंदै अनुसन्धान थालेको मन्त्रालयका एक अधिकारीले जानकारी गराएका छन् । उनले विगतमा बनेको छानविन समितिका अधिकारीलाई नै छानविनको जिम्मा दिने विषयमा छलफल भइरहेको जनाएका छन् ।