काठमाडौं//हतियार चोरी गरेको अभियोग लागेर जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहरिएका छन् ।

तर ,दुवै जनालाई २०७५ चैत १८ गतेबाट गणना हुने गरी ३ वर्षका लागि पदोन्नति (बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गरेको हो।

OM Sai Pathibhara Hospital

यसअघि उनीहरुलाई हतियार चोरी गरेको आरोपमा सैनिक अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो।

२ वर्ष अगाडि सैनिक अदालतले सुनाएको फैसलाविरुद्ध उनीहरुले २०७६ जेठमै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।

तर, उनीहरुको पुनरावेदन निवेदनमाथि सुनुवाइ हुन सकेको थिएन।

अलम्दार गुरुङ र सिपाही तामाङले चोरी गरेको भनिएको सर्ट मेसिन गन (एसएमजी) गत साउनमा चितवनमा मृत फेला परेका सैनिक जवान भरत गुरुङको हत्यामा प्रयोग भएको पाइएपछि उनीहरु 'निर्दोष' ठहर भएको सैनिक जनसम्पर्क तथा सूचना निर्दशनालयले जानकारी दिएको छ।

सेनाको महेन्द्र दल गणमा कार्यरत रहेका भरत गुरुङको गत साउन ७ गते चितवनमा गोली लागे अवस्थामा शव फेला परेको थियो।

भरत गुरुङको हत्या प्रकरणमा पक्राउ परेका सेनाकै जवान गंगाधर ढकालले गुरुङ र तामाङले चोरी गरेको एसएमजी प्रयोग गरेको स्वीकार गरेलगतै  २ वर्षदेखि जेलमा रहेका उनीहरुलाई निर्दोष सावित गर्दै जेल मुक्त गर्ने र साबिककै पदमा पुनर्वहाली हुने फैसला गरेको बताइएको छ।