कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या वृद्धि भएको छ । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ ।
गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या वृद्धि भएको जानकारी दिए । उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए ।
“जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको सङ्ख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ ।” उनले भने, “यो सङ्ख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो ।”
उनले निकुञ्जमा ११ पोथी, छ भाले, लिङ्ग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिए । तीन सय छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो । गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो ।
सन् २०१० मा सरकारले मुलुकमा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य लिएको बताउँदै उनले हाल २३५ को हाराहारीमा बाघ पुगिसकेको जानकारी दिए ।