तनहुँ / तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि  त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार  एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि  जिप भने खोलामा डुबेको अवस्थामा रहेको उनको भनाइ थियो । बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको  खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका  प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात  प्रहरी टोली घटनास्थल पुगेको थियो ।