राजविराज / सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष – उपाध्यक्ष सहितका जनप्रतिनिधि र प्रशासकीय अधिकृतले सरकारी कोषमा रजाई गरेको सार्वजनिक भएको छ ।
सवारीसाधन खर्चका नाममा उनीहरूले सरकारी कोषको चरम दुरुपयोग गरेको महालेखा परीक्षकको प्रतिवेदनले समेत ठहर गरेको छ । महालेखाले गाउँपालिकाबाट सवारीसाधन खर्चका नाममा जनप्रतिनिधि र कर्मचारीले दोहोरो सुविधा लिइरहेको ठहर गरेको हो । प्रतिवेदनमा गाउँपालिका कोषबाट सवारी साधन खर्चका नाममा १४ लाख २६ हजार २ रुपैयाँ खर्च देखाएको भन्दै त्यसमा प्रश्न उठाइएको छ ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले तिन ओटा मोटर साइकल प्रयोग गरिरहेको भन्दै त्यसमा पनि महालेखाले प्रश्न उठाएको छ । अध्यक्ष यादव , उपाध्यक्ष पुष्पमाला मण्डल र प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव सहितले सवारीसाधन लिएको अवस्थामा पनि यातायात भाडा खर्चका नाममा १४ लाख २६ हजार २ सय रुपैयाँ लिएको भन्दै महालेखाले प्रश्न उठाएको हो ।
प्रतिवेदनमा अध्यक्ष यादवसँग २ लाख ५९ हजार ८ सय रुपैयाँ पर्ने सि.बि हर्नेट मोटरसाइकल , २ लाख ३ हजार ५ सय पर्ने होन्डा सि बि साईन मोटरसाइकल र होन्डा सि. बि.साईन रहेको उल्लेख गरिएको छ । गाउँपालिका कोषबाट खरिद गरिएका तीनवटै मोटरसाइकल निजी सवारीसाधनको नम्बर प्लेट राखेर प्रयोग गरिएको भन्दै त्यसमा पनि महालेखाले प्रश्न उठाएको छ ।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष पुष्पमाला मण्डल ले २ लाख ३ हजार ५ सय पर्ने होन्डाको सि . बि साइन मोटरसाइकल र अधिकृतले पनि २ लाख ३ हजार ५ सय पर्ने होण्डाको सि बि साइन मोटरसाइकल खरिद गरेर प्रयोग गरिरहेको अवस्थामा उनीहरूका नाममा समेत यातायात भाडा भुक्तानी भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ ।