दाङ / दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा घोराही उपमहानगर –१३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया विमला केसी रहेका छन् ।
बुधबार राति ११ बजे घोराही उपमहानगरपालिका –४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन् । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ ।
खोलाले बगाएकाहरूको शव झन्डै तीन किलोमिटर तल घोराही –१७ बेलभार भन्ने ठाउँमा फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कँदै गर्दा खोलामा आएको भेलमा परेका थिए ।
शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । चालकको पनि घोराहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।