इटहरी//बर्थडेको गिफ्ट भन्दै गाँजा तस्करी गर्ने  एक दम्पत्ती सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरी गढी - ८ घर भई इटहरी ४ मा डेरा गरी बस्ने २७ वर्षीय दीपेन्द्र राई र उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेका छन्।

OM Sai Pathibhara Hospital

इटहरीबाट प्र.१–०२–०४३ प.८८०४ नं. को मोटरसाइकलमा  विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई कोशी राजमार्गको खनारबाट २१ किलो गाँजासहित पक्राउ गरेको हो।

उनीहरुले ह्याप्पी बर्थडे लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बेरेको कार्टुन बोकेको प्रहरीले बताएको छ।

शंका लागी चेकजाँच गर्दा २१ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले जानकारी गराएका छन्।

दम्पतीले प्रयोग गरेको मोटरसाइकलको इन्जिन नम्बर र चेसिस नम्बर पनि मेटाएर प्रष्ट नदेखिने अवस्थामा रहेको प्रहरी प्रमुख थापाले बताएका छन्।

दम्पती पक्राउ परे लगतै उनीहरुको सहयोगमा प्रहरीले गाँजा ओसार पसारमा संलग्न भारतको बिहारस्थित अररीया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ०६ विसनपुरका टुनटुन यादवलाई समेत पक्राउ गरेको छ।

मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट  यादव पक्राउ परेका हुन् ।   यस विषयमा थप अनुसन्धान भैरहेको कार्यालयले जानकारी गराएको छ।