बिराटनगर / १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।
मिति २०७७ साल मंसिर ३ गते देखी सञ्चालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा ४८० जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहबीमा ९५ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रुपमा दीक्षित गरिएको हो ।
दीक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायब उपरीक्षक बिनोद शर्माले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान, विद्यामान कानुन र प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराएका थिए। दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सफत ग्रहण गराएकी थिइन् ।
प्रशिक्षार्थीहरूलाई तालिम अवधि भर लिइएको चरणगत परीक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतम कुमार मगर लगायत विभिन्न ८ विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरू लगायत तालिममा सहभागी प्रशिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा गरेका थिए ।
दीक्षान्त समारोहका प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले कोभिड १९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य इष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्ने दीक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरेका छन् । साथै उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, इमानदार र बफादारी भई उच्च मनोबलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरूलाई शुभकामना सहितको निर्देशन समेत दिएका छन् ।
दीक्षान्त समारोहमा तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्दै समाज गतिशील छ र हाम्रा समस्याहरू पनि गतिशील नै हुन्छन् यसर्थ हाम्रो प्रयास पनि गतिशील नै हुनुपर्छ । सिकाईको स्तरलाई परिस्कृत गर्दै लैजानु हुनेछ भन्ने बिश्वासका साथ प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गर्यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्नु हुनेछ भन्ने दीक्षित प्रहरी जवानरहरुबाट बिश्वाश गरिएको साथै उनले दीक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिएका थिए ।
नौ महिनाको आधारभूत तालिम अवधि समाप्त गरी दीक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरूलाई उनिहरुको आ-आफ्नो कार्य क्षेत्रमा खटाईने छ ।