विराटनगर / नेपाल आयल निगमको विराटनगर स्थित पार्किङ स्थलबाट सोमबार बिहान करिव २ बजे डिजेल सहितको ट्याङ्कर चोरीको असफल प्रयास भएको खुलेको छ ।

निगमको उत्तरतर्फ पार्किङ गरेर राखिएको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो । करिव २० लाख मूल्य बराबरको डिजेल बोकेको ट्याङ्कर चोरी भएको थाहा पाए लगत्तै परिचालित भएको प्रहरीले चोरीमा संलग्न सहित ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

ट्याङ्करको खोजीमा निस्किएको प्रहरीले बूढीगंगा–३ बाँसबारीबाट ट्यांकर सहित चालक विराटनगर–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको छ ।पक्राउ परेका यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि मात्रै जागिर छाडेका थिए ।

ट्याङ्करका चालक यामकुमार खनाल  र सहचालक शिव खनाल नभएको मौका छोपी यादवले ट्याङ्कर चोरी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जानकारी गराएको छ ।

चोरीमा यादवसहितको समुहको संलग्नता रहेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।