मनाङ / गत जेठ १४ र असार १ गते आएको बाढी पहिरोका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढी पहिरोको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् ।
आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा जिल्ला बाहिर गएका कर्मचारी फर्किन नसकेका हुन् । बाढी पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध छ ।
घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढी पहिरो र आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन् ।
सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । केही कर्मचारी क्रिया कर्म गर्न पनि गएका छन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ”, प्रजिअ लामिछानेले भने ।
बेँसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढी पहिरोले बगाएको छ । सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नसकेको सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय मनाङका प्रमुख ढाकाराम आचार्यले बताए ।
“घर बिदा र कामले जिल्ला बाहिर गएका मनाङका कर्मचारी बाटोका कारण फर्किन नसकेर आधा बाटोमा अलपत्र परेका छन्”, आचार्यले भने । मनाङका कार्यालय तथा चार पालिकाका कर्मचारी कार्यालयमा फर्किन मुस्किल भएको मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा प्रमुख बाबुराम गैह्रेले बताए ।
कार्यालयमा प्रमुख र कर्मचारी पुग्न नसक्दा स्थानीयवासीले सेवा उपभोग गर्न सकेका छैनन् । कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही फर्कन बाध्य भएका छन् । केही लमजुङको बेंसीशहर आएर बसेपनि माथि जान नसकेको बताएका छन् ।