मनाङ / बाढी पहिरोका कारण ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्नको अभाव भएको छ ।
गत असार १ गते आएको बाढीपहिरोका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएकाले ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्नको अभाव भएको हो ।
खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिए ।
पोखरा देखि मुक्तिनाथसम्म खाद्यान्न गाडीमार्फत ल्याएको र मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला पास हुँदै माथिल्लो मनाङ सम्म खच्चडमार्फत ल्याएको गुरुङले बताए ।
अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरी सहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउण्डेशनको सहयोगमा सामग्री विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उनले बताए ।
यहाँका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ । घुमाएर ल्याइएको खाद्यान्न सामग्री पाउँदा स्थानीयवासी हर्षित भएका छन् । माथिल्लो मनाङमा लामो समयदेखि खाद्यान्न अभाव टार्न थोराङ्ला पास गरी ल्याउने गरिएको छ । रासस