पाँचथर / निरन्तरको वर्षाका कारण आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ ।
पहिरोले सडक भत्कँदा विगत २० दिनयता आवतजावतमा समस्या भएको फालेलुङ गाउँपालिका –७ का वडाध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए ।
पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएकाले यातायातमा समस्या भएको छ, केरुङले भने ‘सामान्य लागनीबाट तत्काल पहिरो पन्छाउने सम्भावना देखिदैन। उक्त सडकको फुलभञ्ज्याङ बाँस्बोटे खण्डमा पहिरो गएको छ ।
लुखुरेको पहिरोले विगत पाँच दिनदेखि सडक अवरुद्ध छ । बाँस्बोटेको पहिरोले २० दिनदेखि सडक अरुद्ध भएको हो । पहिरोका कारण फिदिमदेखि प्राङबुङतर्फ आवतजावत गर्ने सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन् ।
‘पहिरोले सडक अवरुद्ध भएपछि बिरामीहरुलाई अस्पताल लैजान समेत समस्या भएको छ, फालेलुङ –७ बाँस्बोटेका जय केरुङले भने, ‘बाँस्बोटेको पहिरो तत्काल पन्छाएर सडक सुचारु गर्ने सम्भावना पनि देखिदैन।’