काठमाडाैँ / अविरल वर्षाका कारण पहिलो खस्दा कालीगण्डकी करिडोर, मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएका छन् ।
बागलुङ नगरपालिका –१३ पैँयु पाटाको फुर्से खोलामा आएको पहिराका कारण करिडोरको बागलुङ– बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।
वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका –२ स्थित भैँसे–भीमफेदी सडकखण्डमा पनि माथिबाट लेदो माटोसहितको पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पहिराका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् ।
उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
त्यसैगरी कैलालीको चुरे गाउँपालिका –५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।