काठमाडौँ / पछिल्लो केही दिनयतादेखि सक्रिय रहेको मौसम शनिबारबाट सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

OM Sai Pathibhara Hospital

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । 

त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा  मेघगर्जन सहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।