धरान / सुनसरी जिल्ला प्रहरी कार्यालयले एकै दिन (बुधबार) विभिन्न मुद्दाका ८३ जना फरार अपराधीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित व्यक्तिहरू रहेका छन् । 

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरूलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा यसअघि एकै महिनामा २३८ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उपरीक्षक थापाले बताए ।